पर्सिसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ – देशभरको मौसममा सुधार भएको छ । अहिले बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । हिजो पनि काठमाण्डौमा घाम लागेको थियो ।

भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन अर्थात् पर्सिसम्म ठूलो पानी पर्ने सम्भावना छैन ।महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसममा सुधार भएसँगै अब बिस्तारै तापक्रम बढ्नेछ । तराईमा तापक्रम बढेपछि हावाहुरीको जोखिम हुन्छ ।

कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक/दुई ठाउँमा हावा/हुरीको सम्भावना छ । आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले कोशी प्रदेशमा मौसम सामान्य बदली छ । अरु ठाउँमा पनि आशिंकदेखि सामान्य बदली छ । दिउँसो काठमाण्डौ उपत्यकासहित केही ठाउँमा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ ।