कोशीमा चार मन्त्री थपिए, राजभण्डारीलाई खानेपानीको जिम्मेवारी

प्रदेश सभामा बहुमत जुटाउन भने गाह्रो

विराटनगर । कोशी प्रदेशका दुई मन्त्री र दुई राज्यमन्त्रीले सोमबार सपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषदमा आफ्नो दल नेकपा एमालेबाट दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । चारजनाले सपथ लिएसँगै प्रदेश मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।

कार्कीले मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र सोलुखुम्बु २ वाट निर्वाचित बुद्धिकुमार राजभण्डारीलाई खानेपानी सिँचाई तथा उर्जामन्त्री नियुक्त गरेका हुन् । अधिकारी यस अगाडी भीम आचार्यको मन्त्रिमण्डलमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री थिए । त्यस्तै बुद्धिकुमार राजभण्डारी कार्कीकै मन्त्रिमण्डलमा सामाजिक विकास मन्त्री थिए ।

त्यस्तै सुनसरीका रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री र धनकुटाका निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा सपथ लिएका छन् ।

मन्त्रिपरिषद् विस्तारसँगै मुख्यमन्त्री कार्कीले मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर गरेका छन् । खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका तिलकुमार मेन्याङ्बोलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय मात्रै दिएका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्रीमा एकराज कार्की र सामाजिक विकास राज्यमन्त्रीमा सिर्जना राई छिन् । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, उद्योग कृषि तथा सहकारी र सामाजिक मन्त्रालय आफैंसँग राखेका छन् ।

२२ भदौमा नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिनुपर्ने छ । सरकारमा सहभागी नभएको राप्रपाले मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने बताएको छ । तर राप्रपाको ६ प्रदेश सांसद जोड्दा पनि बहुमत पुग्दैन ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेसँग प्रदेशसभामा ४० जना सांसद छन् । उपसभामुख सिर्जना दनुवारले मतदान गर्न नपाउने भएकाले मुख्यमन्त्री कार्कीको पक्षमा अहिलेसम्म जम्मा ४५ मत मात्र देखिन्छ ।