सोलुदुधकुण्ड नगरपालिका – तीज कार्यक्रम खर्च विवरण सार्वजनिक

सँस्कृतिको संरक्षण सम्बर्द्धनमा प्रतिबद्ध

सोलुखुम्बु। सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रका सबै जातजाति, भाषा, धर्म, सँस्कार, सँस्कृतिको संरक्षण सम्बर्द्धनमा प्रतिबद्ध रहेको जनाएको छ । मंगलबार विज्ञप्ती जारी गर्दै नगरपालिकाले विद्यमान सामाजिक, साँस्कृतिक महत्व बोकेको चाँड, पर्व, धर्म सँस्कार र परम्पराको महत्व र गरिमालाई कायम राख्दै भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको दायित्व भएको भन्दै केही सञ्चार माध्यमवाट प्रकासन प्रसारण भएको समाचारले ध्यानाकर्षण भएको समेत जनाएको छ ।

लोक सँस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले तीजको अवसरमा आयोजित खुल्ला नृत्य तथा शुभकामना आदान प्रदान कार्यक्रममा एक लाख २ हजार रुपैयाँ खर्च समेत नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईद्वारा हस्ताक्षरित मंगलबार जारी गरिएको प्रेस विज्ञप्तीमा तीजको अवसरमा खुल्ला नृत्य प्रतियोगिताका साथमा महिला कैदीबन्दीका लागि लक्षित गरि जिल्ला कारागार सोलुखुम्बुलाई टेलिभिजन तथा फलफूल वितरण र चियापानमा गरि सो रकम खर्च भएको जानकारी दिनुभएको छ ।

तीज कार्यक्रममा लाखौं रकम खर्च भएको सम्बन्धी समाचार विभिन्न सञ्चार माध्यममा प्रकासन, प्रसारण तथा त्यसमा आएका टिप्पणी पछि नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै प्रष्ट्याएको हो ।

लोक सँस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले आयोजित खुल्ला नृत्यमा १४ समूह सहभागी भएको र पुरस्कार, प्रमाण पत्र र चिया खाजामा ६२ हजार रुपैयाँ र महिला कैदी बन्दीलाई लक्षित गरि जिल्ला कारागार सोलुखुम्बुलाई प्रदान गरिएको टेलिभिजन सेट खरीदमा ४० हजार रुपैयाँ खर्च भएको नगरपालिकाको भनाई छ ।

विज्ञप्तीमा प्रमुख प्रशासकीय अधिकृत राईले सोलुदुधकुण्ड नगरपालिका पारदर्शिता र जवाफदेहिताप्रति प्रतिबद्ध रहेको भन्दै सबै नगर क्षेत्रका जातजाति, भाषा, धर्म, सँस्कार र सँस्कृति संरक्षण सम्बर्द्धनको नीति नगरपालिकाको रहेको बताएकी छिन् ।

हेर्नुहोस् विज्ञप्ती