पाँच नेपाली क्रिकेट खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेसहित पाँच खेलाडी बिग ब्यास लिग २०२३/२४ को ड्राफ्टमा परेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीपसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका छन् ।

सन्दीपले गतवर्ष बिग ब्यास लिग होबार्ट हरिकेन्सबाट खेलेका थिए । यदि हरिकेन्सले चाहेको खण्डमा सन्दीपलाई रिटेन गर्न सक्नेछ । अन्य चार खेलाडीलाई भने ड्राफ्टमा किन्नुपर्ने हुन्छ । देव खनाल नेपालका यू-१९ कप्तान समेत हुन् ।

अर्जुन साउद विकेटकिपर ब्याटर हुन् । अर्जुन आक्रामक क्रिकेट र उत्कृष्ट किपिङका लागि चिनिन्छन् । शेख दाजुभाइ भने ब्याटर हुन् ।

आसिफ शेख विकेटकिपरको साथै ओपनर ब्याटर हुन् । आरिफ शेखले नेपालबाट तल्लोक्रमका ब्याटिङ गर्ने गर्दछन् । मध्यगतिमा बलिङ समेत गर्ने गर्दछन् । १३ औं संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन् । बिग ब्यासको ड्राफ्ट आगमी सेप्टेम्बर ३ मा हुनेछ । बिग ब्यासमा आठ टोली छन् ।

बिग ब्यास आगमी डिसेम्बर ७ देखी सुरु हुनेछ । यदि ड्राफ्टमा सन्दीप बाहेक अन्य कुनै खेलाडीलाई किनेको खण्डमा पहिलो पटक बिक्नेछन् । सन्दीपले भने बिग ब्यास लिग २०१८ मा मेलबर्न स्टार्सबाट खेल्दै सुरुवात गरेका थिए ।