नाम्चेमा ‘सार्वजनिक सुनुवाई’

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले नाम्चेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९र०८० को तेस्रो चौमासिकमा सम्पन्न भएका विकास निर्माण तथा सेवा प्रवाहको बारेमा गाउँपालिकाले मंगलबार नाम्चेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका लेखापाल छत्र बहादुर खड्काले गाउँपालिकाले गरेको महत्वपूर्ण कार्यक्रम साथै भावी योजनाहरुको विषयमा बिस्तृत जानकारी दिनुभएको थियो ।

वहाँले गाउँपालिकाको केन्द्रलाई जोड्ने सडकको पैयाँसम्मको ट्रयाक ओपन, विभिन्न स्थानमा ट्रेकिङ ट्रेल निर्माणका साथमा पर्यटन अन्तक्रिया कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो । वहाले वडा नम्बर १, २, ३ र ४ को वडा कार्यालय भवन निर्माणाको क्रममा रहेको, एभरेष्ट प्लाटिनम जुब्ली कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताउनुभयो ।सार्वजनिक सुनुवाई कार्यक्रममा खड्काले बिस्तृत बजेट विवरण समेत प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाईमा स्थानीयले गाउँपालिकाले सम्पादन गरेका कार्यका बारेमा गुनासा तथा जिज्ञासाका साथमा सुझाब समेत दिएका थिए । कार्यक्रममा स्थानीय पाल्देन शेर्पा, मिङमा ग्याल्जेन शेर्पा, छिरीङ पेन्जो शेर्पा, आङ दोर्जी शेर्पा लगायतले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राख्नुभएको थियो ।

ट्रेकिङ कार्ड, सार्वजनिक शौचालय, स्थानीय संघ संस्था, टोल विकास संस्था, सडक, खानेपानी साथै पर्यटन क्षेत्रमा भइरहेका कामहरुको बारेमा सहभागीहरुले गुनासो र सुझाब राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका गुनासोहरुलाई गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पा, उपाध्यक्ष टासी ल्हामु शेर्पा, वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारी, लेखा अधिकृत चेतनाथ कट्टेल, लेखापाल छत्रबहादुर खड्का, सवइन्जिनियर दिप कुमार बस्नेतले स्पष्ट पार्नुभएको थियो ।

गुसानोहरुलाई सम्बोधन गर्दै पालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बिनियोजित बजेटहरुबाट सफल र दिगो कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी गराउँदै पर्यटन प्रबद्र्धन रसडक बिस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

अध्यक्ष शेर्पाले गाउँपालिकाले प्रवाह गरिरहेको सेवाको बारेमा कमजोरी देखिए खबरदारी गर्न पनि स्थानीयलाई आग्रह गर्नुभयो । गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले दिगो विकासका लागि समान चाहनाका साथमा सहकार्य पनि आवश्यक रहेकोमा जोड दिनुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले ट्रेकिङ कार्डको विषयमा जानकारी दिदै भावि दिनमा संशोधन गर्दै अगाडि बढ्ने योजना रहेको जानकारी दिनुभयो । वडा नम्बर ५ का वडा अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले टोल विकास संस्था मार्फत् योजनाहरु सञ्चालन भइरहेको बताउनुभयो ।

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ५ नाम्चेको वडा कार्यालयमा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पा, प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराई, सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भूमिराज उपाध्याय, रणसुर गुल्मका गुल्मपति खिम बहादुर डाँगी, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद चापागाई, वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष पासाङ ग्याल्जेन शेर्पा, इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरिक्षक शम्भु बस्नेत, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला समूह लगायत स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

यस अघि गाउँपालिकाले वडा नम्बर ४ फोर्चेमा समेत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिसकेको छ ।