सर्वाधिक उचाईमा खुम्बु पासाङल्हामु गाउँपालिकाको “सार्वजनिक सुनुवाई”

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले सर्वाधिक उचाईमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । ३ हजार ८ सय मिटरको उचाईमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर ४ फोर्चेमा गत हप्ता १५० जना भन्दा बढी स्थानीयको सहभागितामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम करिब चार घण्टा चलेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको तर्फवाट वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले चालु आर्थिक बर्षको पहिलो चौमासिक र गत आर्थिक बर्षको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

अधिकारीले प्रगति विवरण प्रस्तुत गरिसकेपछि स्थानीयले प्रश्न, जिज्ञासा र सुझाब राखेका थिए । खुम्बु क्षेत्रमा अत्याधिक मात्रामा भई रहेको हेलिकप्टरको उडानले स्थानीयको रोजिरोटी खोसिने तर्फ गाउँपालिकालाई भूमिका खेलिदिन सुनुवाईमा उपस्थित धेरैले गाउँपालिकालाई आग्रह गरे ।

स्थानीय पाल्देन नाम्गेल शेर्पाले बिदेशी पर्यटक र सामानहरु सबै हेलिकप्टरले बोक्दा स्थानीयको होटल व्यवसायमा नकारात्मक असर परेको बताउनुभयो । वहाले रोजगार सिर्जनामा गाउँपालिकाले जोड दिनु पर्ने बताउनुभयो । सुनुवाईमा सहभागीले युवा लक्षित तथा महिला लक्षित बजेट बढाउनु पर्ने मागसमेत थियो ।

गाउँपालिका र वडा कार्यालयले प्रवाह गरिरहेको सेवा सन्तोषजनक रहेको भन्दै स्थानीयले खुम्बुलाई छिटो सडक सञ्जालमा जोड्न र खुम्बु क्षेत्रको बाटो निर्माण तथा मर्मतमा पालिका सरकारको ध्यानाकर्षण गराएका थिए ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले विकासप्रतिको स्थानीयको तिब्र चाहनाले छिटो छरितो काम गर्न सुझाब आए पनि भौगोलिक जटिलता र चिसोका कारण कतिपय विकास निर्माणको काममा ढिलाई भएको स्वीकार गर्नुभयो । वडा तथा गाउँपालिकाले प्रवाह गर्ने सेवालाई छिटो छरितो रुपमा सम्पादन गर्न आफूहरु लागि परेको शेर्पाको भनाई थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय, प्रदेश र संघीय संसद गरि तीनै तहका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सोलुखुम्बुवाट नवनिर्वाचित संघीय सांसद मानवीर राई र प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा संघीय र प्रदेश सांसदद्वयले खुम्बुको विकासका लागि बजेट व्यवस्थापन गर्नका साथमा नीतिगत सुधारको काम गर्ने बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा स्थानीय सरोकारवालाले उठाएका प्रश्न तथा जिज्ञासामा गाउँपालिका अध्यक्ष शेर्पाका साथमा उपाध्यक्ष टासील्हामु शेर्पा, प्रवक्ता ल्हाक्पा छिरी शेर्पा, वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी, वडा नम्बर ५ का अध्यक्ष पासाङ ग्याल्जेन शेर्पा, कार्यपालिका सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन बुढाथोकी र वडा सचिव दावा ग्याल्जे शेर्पाले जवाफ दिनुभएको थियो ।

चालु आर्थिक बर्षको प्रथम चौमासिकमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चालु तर्फ ५,२२,२३,१४१ रुपैयाँ र पूजिगत तर्फ १,२९,५१,६३१ रुपैयाँ खर्च गरेको छ ।

अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा खुम्बु पासाङल्हामु गाउँपालिकाले चालु तर्फ १९,६४,८७,५५५ रुपैयाँ र पूजिगत तर्फ १४,८९,६२,४२० रुपैयाँ खर्च गरेको थियो । जुन चालु तर्फ ७७ प्रतिशत र पूँजीगततर्फ ७६ प्रतिशत प्रगति हो ।
यसै गरी गाउँपालिकाले वडा नम्बर १ को खरिखोलामा समेत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युत, खानेपानी, विद्युतीय सवारी साधन, शिक्षा, स्वास्थ्य लगायत्का बिषयमा सहभागीले गाउँपालिका तथा वडा कार्यालयको ध्यानाकर्षण गराएका थिए ।

वडा नम्बर १ मा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ प्रवक्ता ल्हाक्पा छिरी शेर्पा, कार्यपालिका सदस्यहरु ल्हाक्पा ग्याल्जेन शेर्पा, उमा बराइली, निमित्त वडा अध्यक्ष अनिल राई, गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेल र लेखापाल छत्रबहादुर खड्काले दिनुभएको थियो । खरिखोलामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा १२० जना भन्दा बढी स्थानीयको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।