अमेरिकामा सोलुका शेर्पाको चर्चा, जसले ट्याक्सीमा दन्किरहेको आगो निभाए

काठमाडौं : सोलुखुम्बु गोराखानी घर भएका ल्हाक्पा रिन्जी शेर्पाको यतिबेला अमेरिकामा चर्चा भइरहेको छ। न्युयोर्कको व्यस्त लागार्डिया विमानस्थलमा साहसिक काम गरेको भन्दै उनको अमेरिकामा चर्चा भइरहेको हो।

गत मंगलबार लागार्डिया विमानस्थलको पार्किङस्थलमा एउटा कारमा अचानक आगलागी भयो। कारमा आगलागी भएपछि पार्किङस्थल धुँवाले भरिएको थियो। आगलागीबाट त्रसित भएकाहरू भागदौड गरिरहेका बेला शेर्पा आगलागी नियन्त्रणमा जुटेका थिए। फायर एक्स्टीङ्गगुइसर (आगो निभाउने उपकरण) लिएर उनले ट्याक्सीमा दन्किरहेको आगो निभाए। विमानस्थलमा हुनसक्ने ठूलो क्षति उनको साहसिक कामले टरेको थियो।

उनको साहसिक काम देखेर धेरैले मोबाइलमा भिडियो कैद गरी सामाजिक सञ्जालमा हालेका थिए। सामाजिक सञ्जालदेखि मिडियामा उनलाई ‘हिरो’को उपनाम दिइएको छ।

शेर्पाले आफ्नो अनुभवका कारण आगलागी नियन्त्रणमा जुटेको बताए। नेपालमा रहँदा एयरलाइन्समा काम गर्दा आफूसँग आगो नियन्त्रण गर्ने लामो अनुभव रहेको अन्नपूर्णसँग बताए।

‘आगो निभाउने अनुभव मसँग थियो। त्यसको प्रशिक्षण पनि मैले लिएको छु। धुँवाको मुस्लो देखेर सबैजना भागदौड गरिरहेका बेला म आगो नियन्त्रमा जुटेको थिएँ। आगलागी नियन्त्रण बाहिर जाँदा धेरै क्षति हुनसक्थ्यो। त्यसैले म भागिनँ र आगलागी नियन्त्रणमा आयो,’ उनले भने।

उनले विदेशमा नेपाल र नेपालीको शीर उचो पारेकोप्रति आफू खुसी भएको प्रतिक्रिया दिए। ‘मेरो साहस देखेर अहिले सामाजिक सञ्जाल र मिडियामा पनि चर्चा चुलिएको छ। यसले नेपाल र नेपालीको शान बढाएको अनुभव भइरहेको छ,’ उनले थपे। – अन्नपूर्ण पोष्टवाट