धरानमा निषेधाज्ञा जारी

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी आज राति १२ बजेदेखि भोलि शनिवार राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश दिनुभएको हो ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले भोलि प्रदर्शनको आह्वान गरेका छन् । यस्तै प्रदर्शनको प्रतिकारसमेत हुने सम्भावना बढेपछि धरानमा निषेधाज्ञासहित धरान प्रवेशमा कडाइ गरेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा धरानमा फैलिएको डेङ्गी सङ्क्रमण नियन्त्रणमा नआउन्जेल स्वास्थ्य आपत्काल अवस्था क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा यसअघि नै सिफारिस गरेको र धरानमा भोलि धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्थासमेत देखिएकोले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरेको उल्लेख छ ।