सोलुखुम्बु – दिप्लीघाटमा रहेको बेलीब्रिजमा बाढीले क्षति पुर्यायो

सोलुखुम्बु – बाढीले सोलुखुम्बुको दिप्लीघाटमा रहेकाे बेलीब्रिजमा क्षति पुर्याएकाे छ । निरन्तरको वर्षापछि आएकाे बाढीका कारण थुलुङ दुधकोशी गाउँपालिका-८ दिप्ली र सोताङ गाउँपालिका-१ खोर्दाको सिमानामा रहेको बेलीब्रिजमा क्षति पुगेकाे हाे ।

स्थानीय तुलकुमार लामिछानेले  पुलको मुख्य पिलर तल्लो भागतर्फ ढल्किएको र पुल नजिकै रहेको एउटा डाेजर, एउटा जेनेरेटर र एउटा सिमेन्ट फिट्ने मिक्चर बाढीले बगाएको जानकारी दिनुभयाे ।

खोलामा जलसतह बढिरहेकाले थुलुङ दुधकोशी-८ तर्फको तीन घर जोखिममा परेका छन् । खोला नजिकै रहेको केशव राई, मन कुमार राई र पासाङ राईको घर जोखिममा परेका हुन्।

पुल ढल्किएसँगै जिल्ला सदरमुकाम र कोशीपारिका सोताङ र महाकुलुङ जाने गाडी राेकिएका छन् । आज बिहानदेखि पुल ढल्किएपछि कोशी पारि जाने गाडी तथा कोशीपारिबाट सल्लेरी, काठमाण्डौलगायतका  लागि छुटेका गाडी अलपत्र परेका छन् ।