सन्दीप एसिया कप खेल्न जाने

काठमाडौं – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न जाने भएका छन् । पछिल्लो एक वर्षदेखि १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका सन्दीप आइतबार राती पाकिस्तान जाने भएका छन् ।

सन्दीपको आइतबार जिल्ला अदालत काठमाडौंमा पेसी छ । त्यसपछि सन्दीप एसिया कप खेल्न जाने उनका वकिल सरोज घिमिरेले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

‘अब सन्दीपको आइतबार पेसी छ । हामी अन्तिम फैसला पर्खिरहेका छौं । आइतबार अन्तिम फैसला सम्भावना होइन हुन पर्ने हो । अरु विविध कारणले नहुने भन्ने त्यही दिन थाहा हुने भयो । हामी पछिल्ला ३-४ पेसीदेखि अन्तिम भनेर नै बसेका छौं । एउटा एउटा समस्या निकालेका छन् । त्यसैले गर्दा ठ्याक्कै भन्न सकिँदैन’, घिमिरेले भने ।

नेपाली क्रिकेट टोली एसिया कप खेल्न मंगलबार राती पाकिस्तान गएको थियो । तर सन्दीप टोलीसँग गएनन् । नेपाली क्रिकेट संघ (क्यान) ले सन्दीप बिरामी भएको झुटो समाचार दिँदै उम्किन खोजेको थियो । मंगलबार साँझ नै सन्दीपले आफू पूर्णरुपमा फिट भएको जनाएका थिए ।

घिमिरेले सन्दीप आइतबार साँझ एसिया कप खेल्न जाने बताए । ‘सन्दीप अहिले टिमसँग नजानुको मुख्य कारण पनि आइतबारको पेसी नै भएर हो । आइतबार पेसी तोकिने सार्वजनिक गरेका थिएनौं । किनभने केहि अनुसन्धान बाँकी थियो । आइतबार पेसी तोकिएको छ । त्यसपछि सन्दीप आइतबार बेलुका उडान गर्छन्, उनले भने ।

अदालतले अन्तिम फैसला नगरेपनि सन्दीप जाने घिमिरे बताउँछन् । उनले भने, ‘अदालतले आइतबार अन्तिम फैसला दिएन भने पनि केहि फरक पर्दैन । हामी मिलाउँछौं । उनी आइतबार जाँदैछन् ।’ पछिल्लो बहसमा अदालतले पिडितको आमाको जन्म मिति यकिन गर्न आदेश दिएको थियो ।

एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, पाकिस्तान र भारत समूह ए मा छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ । नेपाली टोली बुधबार पाकिस्तान पुगेको थियो । आजदेखि तयारी गर्नेछ । नेपालले आफ्नो इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दैछ ।