सारुकको अन्तिम फिल्मका दृश्य समेटिएको म्युजिक भिडियो

काठमाडौँ । दिवंगत अभिनेता सारुक ताम्राकारको अन्तिम फिल्म ‘ह्यासट्याग माया’का दृश्यलाई समेटेर तयार पारिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित समारोहमा फिल्मका निर्देशक राजीव गुरुङले सारुकको इच्छा फिल्म नै गर्नु रहे पनि सो काम सम्भव नभएपछि सम्मानका लागि सांगीतिक भिडियो सार्वजनिक गरिएको बताए ।

‘हामीले फिल्म पूरा गर्न सकेनौं । तर सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौं । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो । ऊ नरहे पनि उसको काम हामी माझ रहिरहने छ,’ निर्देशक गुरुङले भने ।

गीतमा सारुकसँगै निकिता आचार्य, महेश मगर र सागर परियारले अभिनय गरेका छन् । उक्त भिडियोमा बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले बताए । कार्यक्रममा सारुककी आमा रुकमणि, चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा लगायत उपस्थित थिए ।

सारुककी आमा रुकमणिले छोराले मेहनतका साथ गरेको कामलाई म्युजिक भिडियोकै माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, ‘सारुकले यो फिल्मका लागि तीन वर्षदेखि समय दिएको थियो । यसलाई ठूलो पर्दामा हेर्न नपाए पनि यहाँ हेर्न पाउँदा खुसी लाग्यो ।’

पुत्र वियोगको कारण सारुकका बुवा सानु ताम्राकार अस्पतालमा भर्ना भएकाले उपस्थित नभएको उनले बताइन् । सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिट्टै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गरिन् ।

कलाकार संघका अध्यक्ष निरौलाले पनि ‘सारुकले न्याय पाउनुपर्छ’ भन्दै आफ्नो मन्तव्यको सुरुवात गरे । उनले भने, ‘म यो परिवारसँग जोडिएको चार दशक भइसक्यो । उहाँहरू सरुकलाई गुमाउँदा जुन पीडामा हुनुहुन्छ, त्यसलाई शब्दमा व्यक्त गर्न सकिंदैन । हामी पनि कलाकारसँग जोडिएको विषयलाई अनुसन्धान गरिरहनुभएका प्रहरीलाई छिट्टै टुंग्याउन र सत्य-तथ्य बाहिर ल्याइदिन आग्रह गर्दछौं ।’

सारुक निकट अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले पुराना सम्झनालाई स्मरण गर्दै भावुक भइन् । ‘सारुकसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समूहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग बिदा भयो भनेर स्वीकार्न सकिरहेका छैनौं । हाम्रो साथीले के-कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माग छ र हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौं,’ सृष्टिले भनिन् ।

फिल्म ‘रानी’बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ‘मेरी मामु’, ‘इन्टुमिन्टु लण्डनमा’ लगायतका फिल्ममा अभिनय गरेका छन् । ताम्राकार गत असार २१ गते रातोपुलस्थित घरमा मृत भेटिएका थिए ।