सोलुखुम्बुमा रोपाई जात्रा प्रदर्शन गरिने

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा रोपाई जात्रा प्रदर्शन गरिने भएको छ । कोराना संक्रमण पछि रोकिएको रोपाई जात्रा यस बर्ष प्रदर्शन गर्न लागिएको हो ।

दोर्पू नेवार समाजले गणेश गुठी संस्था गार्मा र नेवार सेवा समाज थुम्लिङसँगको समन्वयमा यहि भदौ १८ गते सोमबार रोपाई जात्रा प्रदर्शन गर्न लागेको दोर्पू नेवार समाजले जनाएको छ । जात्राका लागि योङ्ग स्टार क्लवको बिशेष सहयोग रहने बताइएको छ ।

हरेक बर्ष गाइजात्राको भोलिपल्ट रोपाइ जात्रा मनाउने परम्परा रहे पनि मौसम प्रतिकुलतालाई मध्यनजर गरि केही दिन पछि रोपाई जात्रा प्रदर्शन गरिन लागेको हो ।

विभिन्न साँस्कृतिक झाँकीको साथमा गीत, नृत्य, ब्यङ्ग्य लगायत्को मनोरञ्जनात्मक प्रस्तुति रहने रोपाई जात्रामा खेतको हिलोको प्रतिकको रुपमा अनुहारमा विभिन्न रङ्ग दलेर रोपाहारले धान रोप्ने र बाउसेले बाउसे गरेको अभिनय गर्ने गरिन्छ ।

लाखे नाँच, मकुण्डो लगायत्को प्रयोगले रोपाई जात्रालाई तान्त्रिक, धार्मिक एवं साँस्कृतिक महत्वको जात्राको रुपमा लिइने गरिएको छ ।

रोपाई जात्रा सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पू बजारवाट शुरु भई नयाँ बजार, बसन्त बजार, सल्लेरी हुँदै आवा डाँडा पुगेर समापन गरिने आयोजक दोर्पू नेवार समाजले जनाएको छ ।