कोशीमा राप्रपाले गठबन्धनलाई विश्वासको मत दिने चरण समाप्त भइसक्यो : लिङ्देन

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा आफ्नो पार्टीले सत्ता गठबन्धनलाई विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन् ।

केही दिनदेखि विदेश भ्रमणमा रहेको लिङ्देनले मंगलबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोशी प्रदेशमा राप्रपाले सत्ता गठबन्धनलाई सहयोग गर्ने कुनै सम्झौता नभएको दाबी गरे ।

केन्द्रमा पूर्वाधार समितिको सभापति पाएको विषयलाई लिएर कोशीमा लेनदेन गर्यो भनेर प्रचार गरेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताए । समितिको सभापति लिनका लागि राप्रपाले कुनै लेनदेन नगरेको उनले बताए ।

उनले भने, ‘कोशी प्रदेशमा सत्ता गठबन्धनका केही साथीहरुले तोकेरै सभामुख र एउटा मन्त्री राप्रपाले लिएर गठबन्धनलाई सहयोग गर्ने सहमति भएको भनेर प्रचार गरिरहेका छन् । राप्रपाले चाहेर पनि गठबन्धनलाई समर्थन गर्ने र विश्वासको मत दिने त्यो चरण नै समाप्त भइसकेको छ ।’

उनले लेनदेनमा सहमति भयो भनेर गरिएको प्रचार सरासर झुटो भएको बताए ।

कोशी प्रदेशमा सभामुख फालाफाल भएकाले राप्रपाले सभामुख मागिरहन नगर्ने उनले बताए । ‘राप्रपाले कोशीमा सभामुख मागिराख्नै पदैन्,’ उनले भने, ‘सभामुख फालाफाल छ, यसमा हामीले कुनै सर्त राख्नै पर्दैन् ।’

राप्रपाको लागि सभामुख र मन्त्री प्राथमिकताको विषय नभएको उनको भनाइ छ ।