डा. बालकृष्ण साहको पुस्तक ‘गर्भको गर्व’ लोकार्पण

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहको गैरआख्यान ‘गर्भको गर्व’ लोकार्पण भएको छ । काठमाडौंस्थित नेपाल चिकित्सक संघको सभाहलमा राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेत, लेखक डा.बालकृष्ण साह, नारी मासिककी सम्पादन उपसना घिमिरे, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सजिव तिवारी,  पूर्व अध्यक्ष डा. लोचन कार्की, गर्भवती महिला भावना प्रधान न्यौपानेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

साहित्यपोस्टले प्रकाशन गरेको यो सिर्जनात्मक गैरआख्यान हो, जसमा ९ वटा कथा समेटिएका छन् । यी कथाहरु महिलाले गर्भावस्थामा भोग्नुपर्ने अनेकन जटिलतामाथि लेखिएका छन् । डा. साहले देखेका, भोगेका कुराहरुबाट नै कथा तयार भएको बताएका छन् । कथामा उल्लेख गरिएका कतिपय पात्र र प्रसंग वास्तविक घटनामा आधारित छन् ।

उमेरको परिपक्कता नआई विवाह गर्दा, जन्मान्तर कम हुँदा, छोरा पाउने दबाव हुँदा एउटी नारीले आफ्नो ज्यानलाई कसरी बाजी लगाउनुपर्छ भन्ने कुरा यसमा पेश गरिएको छ । प्रसूति एवं गर्भावस्था एउटै भएपनि त्यसले ल्याउने जटिलता उस्तै नहुने र हरेक नारीसँग यसको फरक फरक अनुभव रहेको पुस्तकमा उल्लेख छ । हरेक कथाको अन्त्यमा त्यससँग सम्बन्धित रोग एवं समस्याबारे पनि विस्तारमा लेखिएको छ ।

छोरी किन भएछु, चेलीका पीडा, प्रीतिको जित, रगतको जात, छोरीको माइती, त्यो लडाइँ जस्ता शीर्षकका कथाहरु पुस्तकमा पढ्न पाइन्छ । १ सय १९ पृष्टको पुस्तकको मूल्य २५० रुपैयाँ छ ।

डा. साहको यो दोस्रो पुस्तक हो । यसअघि उनले सुरक्षित मातृत्वसम्बन्धी ‘आमा’ शीर्षकमा पुस्तक लेखेका थिए । स्त्रीरोग तथा प्रसूतिबारे डेढ दशकदेखि विभिन्न लेख लेख्दै आएका शाहले कान्तिपुर पब्लिकेसन्सको साप्ताहिक र नारीमा नियमित स्तम्भ लेख्दै आएका थिए । त्यससँगै अनलाइनखबर, काठमाडौं पोस्ट, अन्नपूर्णपोस्टलगायतमा उनको लेख प्रकासित हुँदै आएको छ ।