प्रचार-प्रसारमा व्यस्त ‘ऐँचो पैँचो’ टिम

काठमाडौं । कृषा चौलागाईं निर्देशित सिनेमा ‘ऐँचो पैँचो’ टिम सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ ।

कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला तथा निर्देशक चौलागाईं यति बेला मिडिया अन्तर्वार्तामा व्यस्त छन् । कलाकार आफ्ना अन्य सबै काम छोडेर प्रचारमा जुटेका हुन् ।

बक्स अफिसमा सफल हुनेमा ढुक्क कृषा

निर्देशक कृषाका अनुसार ‘ऐँचो पैँचो’ पारिवारिक सामाजिक विषयमा केन्द्रित सिनेमा हो । यसमा समाजमा हुने राजनीति पनि छ । युवामा राजनीतिले पारेको प्रभाव र असर पनि छ । तर, सिनेमा राजनीतिमा मात्रै केन्द्रित नभएको उनले बताउँदै आएकी छन् । राजनीति सिनेमाको एउटा लेयर मात्रै भएको उनले स्पष्ट पारेकी छन् ।

समाजबाट राजनीति अलग हुन नसक्ने र चाहेर पनि कोही यसबाट भाग्न नसक्ने उनी बताउँछिन् । त्यही नै सिनेमामा समेटिएको कृषाको भनाइ छ ।

गीत, टिजर, ट्रेलरबाट दर्शकले पाएको माया जस्तै हलमा सिनेमाले पनि माया पाउनेमा निर्माण टिम ढुक्क छ ।

राजनीतिज्ञले हेर्नै पर्ने सिनेमा

नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ‘ऐँचो पैँचो हेर्ने पर्ने सिनेमा भएको बताएका छन् । ‘ऐँचो पैँचो’ले राजनीतिक दलका नेताहरूलाई सच्चिन सन्देश दिने बताएका छन् ।

‘पोलिटिकल इज अ डर्टी गेम’ भन्ने भनाइ रहेको अवस्थामा खराब बाटोमा रहेका राजनीतिकर्मीलाई पनि सच्चिन सिनेमाले सन्देश दिनमा आफू ढुक्क रहेको उनले बताएका छन् । उनले सबैलाई सिनेमा हेर्नका लागि अपिल पनि गरिसकेका छन् ।

नेपालबाटै लगानी उठाउँछौँ : निर्माता

‘ऐँचो पैँचो’का निर्माता विशाल चौलागाईंले विदेशका धेरै देशका लागि सिनेमाको राइट्स बिक्री भइसकेको भन्दै उनले नेपालबाटै लगानी सुरक्षित गर्ने बताए ।

उनले भने, ‘यो पटक हामी नेपालबाहेक बाहिरबाट कसरी लगानी उठाउने भन्नेभन्दा पनि नेपालका थिएरटबाट कसरी टिकट बिक्री गरेर लगानी सुरक्षित गर्ने भन्नेमा केन्द्रित भएका छौँ ।’

जति धेरै दर्शकले सिनेमा हेर्छन् त्यति नै लगानी सुरक्षित हुने भएकाले यसमा अहिले आफ्नो ध्यान केन्द्रित भएको उनको भनाइ छ ।

उनले राजनीतिक दलका नेतासँग सिनेमाको कुनै सम्बन्ध नरहेको भन्दै समाजको कथासँगै केही राजनीतिक विषय पनि समावेश भएको बताएका छन् । उनले नेकपा एमाले सचिव योगेश भट्टराईलाई पनि सिनेमाको गीत सार्वजनिक कार्यक्रममा बोलाएका थिए ।

नेताहरूलाई सिनेमा हेर्न स्वस्तिमाको आग्रह

स्वस्तिमाले राजनीतिमा आबद्ध व्यक्तिहरूलाई पनि सिनेमा हेर्न आग्रह गरेकी छन् । सिनेमाको प्रिमियर तथा कार्यक्रमहरूमा नेताहरूलाई आफूले देख्ने गरेको भन्दै उनले हलमा गएर पनि सिनेमा हेर्न आग्रह गरेकी हुन् ।

सिनेमा समाजको रिफरलेक्सन पनि भएको भन्दै उनले भनेकी छन्, ‘कतिपय सन्दर्भमा उहाँहरूले समाजमा नदेख्नु भएको कुरा हामीले हाम्रो क्यामेराबाट देखाइरहेको हुन सक्छौँ । त्यसैले ऐँचो पैँचो हेर्न म उहाँहरूलाई आग्रह गर्छु ।’

अनावश्यक गसिप र कन्ट्रोभर्सी गरेर आफू सिनेमा चलाउने पक्षमा नरहेको भन्दै उनले ‘ऐँचो पैँचो’ राम्रो बनेको बताएकी छन् ।

वर्षा भन्छिन्- मेरो क्यारेक्टर अर्थपूर्ण छ

अन्य सिनेमामा भन्दा आफूले ‘ऐँचो पैँचो’मा राम्रो काम गरेको प्रतिक्रिया निर्माण पक्षबाट पाएको नायिका वर्षा राउतले बताएकी छन् । आफ्नो चरित्र सिनेमामा छोटो भए पनि पावरफूल भएको उनको भनाइ छ ।

त्यसैले आफूले यो सिनेमामा काम गरेको उनको भनाइ छ । आफ्ना धेरैजसो चलचित्र छोटो र अर्थपूर्ण क्यारेक्टर हुने गरेको उनी बताउँछिन् । सिनेमा टिमवर्क भएको भन्दै सबैले राम्रो काम गरे मात्रै चलचित्र समग्रमा राम्रो हुने वर्षा बताउँछिन् । ‘ऐँचो पैँचो’मा सबै कलाकारको उत्तिकै इफोर्ट रहेकाले राम्रो सिनेमा बनेको उनको दाबी छ ।

अभिनेता मुकन भुसालले आफूलाई स्क्रिप्ट राम्रो लागेकाले काम गरेको बताएका छन् । ‘बुलबुल’ पनि स्क्रिप्ट मन परेरै काम गरेको भन्दै उनले भने, ‘बुलबुलमा पनि स्वस्तिमा जी लिड रोलमा हुनुहुन्थ्यो । त्यो सिनेमाबाटै म आएको हुँ । मैले धेरै सिनेमा त गरेको छैन । तर स्क्रिप्ट राम्रो भयो भने काम गर्छु । कुन रोलमा को छ भन्दा पनि समग्रमा सिनेमा राम्रो हुनुपर्छ । त्यो भयो भने सबैलाई राम्रो हुन्छ ।’

सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । सिनेमाको एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ ।

सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

केपी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाईं सह-निर्माता रहेका छन् ।