कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भुभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।